आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका केही स्थानमा मापदण्डविपरित बोर्डहरु राखेको पाइएको छ।
विशेष गरी काठमाडौँको सिंनामगल, पुरानो बानेश्वर साथै वडा नम्बर ३१ का विभिन्न स्थानमा त्यस्ता बोर्डहरु भेटिएका हुन्। काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र व्यवसायीक विज्ञापन गर्दा निश्चित मापदण्ड लागू गरेपनि एक्स्ट्रिम इनर्जी ड्रिंक्स त्यस्ता बोर्डहरु हटाएको छैन।
काठमाडौं महानगरका सूचना अधिकारी नूरनिधि न्यौपानेका अनुसार महानगरले सहरका व्यवसायिक पहिचानका राखिएका अनधिकृत बोर्डहरु हटाइसकेको बताए। त्यस्तो अनधिकृत रुपमा राखिएको पाए तुरुन्तै हटाउन सम्बन्धित वडा कार्यालयमार्फत काम अगाडि बढाउने गरेको उनले बताए। ‘डिजिटलबाहेक अन्य बोर्डहरु राख्न अनुमति दिने काम सम्बन्धित वडाले गर्छ। आवश्यक विषय उतै बुझ्नुहोला,’ उनले भने।
महानगर ३१ का वडा सचिव सुरेस साहू श्रेष्ठले अनुमति विना बोर्ड राख्न नपाउने तर पाइएको खण्डमा तुरुन्त हटाइने प्रतिक्रिया दिए।
यता, एक्स्ट्रिम इनर्जी ड्रिंक्सकी दीक्षा थापाले आफूहरूले काठमाडौं महानगरभित्रका सम्पूर्ण बोर्डहरु हटाएको र बोर्ड राख्ने अभियान तत्काललाई स्थगित गरिएको जानकारी दिइन्। उनले भनिन्,‘तत्काललाई हामीले बोर्डहरु राख्ने काम रोकेका छौँ। आगामी एनपीएलमा मात्र प्रचारप्रसारमा खटिने छौँ।’
महानगरले आर्थिक ऐन २०७९ बमोजिम होडिङ बोर्ड राख्न निश्चित मापदण्ड तोकेको छ। महानगरले सम्पत्ति कर, घरबहाल घर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारी साधन करसहित ३६ शीर्षकमा राजस्व असुल गर्दै आएको छ।