नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले अबको राजनीति फरक सोच, फरक शैली र फरक संस्कारसहित अघि बढ्ने बताएका छन्। 

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका घिमिरेले सोमबार सामाजिक सञ्जालमार्फत उनले मतदाताप्रति आभार व्यक्त गर्दै १,५१३ मत सङ्ख्या मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको ठूलो प्रेरणा रहेको बताए। 

उनले भने, ‘महामन्त्री पदमा मलाई विश्वास गरी आफ्नो अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण आदरणीय महाधिवेशन प्रतिनिधिज्यूहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। यहाँहरूले प्रदान गर्नुभएको १,५१३ मत मेरा लागि सङ्ख्या मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको ठूलो प्रेरणा हो।’

उनले लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया रहेको उल्लेख गर्दै आफू मत परिणामबाट विचलित नरहेको बताए। उनले अबको यात्रा फरक सोच र शैलीबाट अघि बढ्ने समेत बताए। 

‘म यस परिणामबाट विचलित नभई नयाँ शिराबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु। अबको राजनीति फरक सोच, फरक शैली र फरक संस्कारसहित अघि बढ्नेछ—जहाँ निष्ठा, विचार, संवाद, इमानदारी र पार्टी रूपान्तरण प्रमुख आधार हुनेछन्,’ उनले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो। यहाँहरूको विश्वासलाई शिरोपर गर्दै नेपाली कांग्रेसलाई थप गतिशील, लोकतान्त्रिक र जनउत्तरदायी बनाउने अभियानमा निरन्तर क्रियाशील रहनेछु।’