नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. सुनिलकुमार शर्माले निर्वाचनमा पराजित भएपनि पार्टी र जनताको सेवामा निरन्तर सक्रिय रहने बताएका छन्। 
सामाजिक सञ्जालमार्फत उनले महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधि तथा चुनावी अभियानमा साथ दिने सबैप्रति आभार व्यक्त गरे। 
उनले निर्वाचनको परिणामले आफ्नो राजनीतिक जिम्मेवारी र पार्टी रूपान्तरणप्रतिको सङ्कल्प कमजोर नबनाएको लेखेका छन्। ‘पदमा रहेर वा नरहेर, पार्टी र देशका दूर दराजमा बसोबास गर्ने आम नागरिकको सेवामा समर्पित थिएँ र रहनेछु,’ उनले लेखेका छन्।
कांग्रेसलाई जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी बनाउने आफ्नो प्रतिबद्धता यथावत् रहेको उल्लेख गर्दै उनले पार्टीभित्र सकारात्मक परिवर्तन, सुदृढ सङ्गठन र जनउत्तरदायी राजनीतिक संस्कार स्थापनाका लागि निरन्तर प्रयास गर्ने लेखेका छन्।
शर्माले लोकतान्त्रिक पद्धतिलाई जीवन्त राख्न प्रतिस्पर्धामा उत्रिएका सबै नेता, निर्वाचित पदाधिकारी तथा पार्टीका कार्यकर्तासँग सहकार्य गर्दै पार्टी र जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।