२१ किलो सुनसहित पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो। सुनसहित पक्राउ परेका चिनियाँ नागरिकहरू २७ वर्षका हान फेइ, ३७ वर्षका वाङ जियानझेन र ४७ वर्षीय झोउ लोङक्विन छन्।

उनीहरूलाई कार्यालयबाट खटिएको टोलीले बुढानीलकण्ठको एउटा घरबाट पक्राउ गरेको हो। घरबाट प्रहरीले ठोस र अर्धठोस गरी २१ किलो सुन बरामद गरेको हो। 

उनीहरूले उक्त घरलाई सुन प्रशोधन गर्ने ठाउँ बनाएका थिए। उनीहरूले नै भाडामा लिएका थिए।  भाडामा लिइएको घरमा उनीहरूले सुन गाल्न प्रयोग गरेको मेसिनहरू समेत फेला पारेको छ। तयारी अवस्थामा रहेका ११ वटा पिसको १०.९९७ किलो सुन बरामद भएको थियो।

त्यस्तै, जम्मा १०.७५२ किलो अर्धठोस बरामद भएको हो। अर्धठोस सुनलाई प्लास्टिकमा राखिएको थियो। यसरी दुबै गरी २१.७५० किलोग्राम सुन बरामद भएको हो।