प्रधानमन्त्री वालेन्द्र शाहले पेशागत सफलताका लागि नैतिकता, निष्ठा र इमानदारीलाई पहिलो सर्तका रूपमा लिनुपर्ने बताएका छन्।

राष्ट्रिय प्रहरी प्रतिष्ठान, महाराजगञ्जमा आइतबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले दीक्षित प्रहरी निरीक्षकहरूलाई तालिममा सिकेका ज्ञान, सीप र अनुशासनलाई कार्यक्षेत्रमा व्यवहारमा उतार्न निर्देशन दिएका हुन्।

उनले प्रहरी कर्मचारीले पेशागत आचरण र अनुशासन कायम राख्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि तथा मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए। जिम्मेवारीप्रति जवाफदेही हुनु पनि पेशागत सफलताको महत्त्वपूर्ण आधार भएको उनको भनाइ थियो।

नेपाल प्रहरीले देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा नागरिकका स्वतन्त्रता र अधिकारको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहले कुनै पनि अनुचित प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्न निर्देशन दिए।

‘यो महत्त्वपूर्ण जिम्मेवारी निभाउँदा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी, भेदभाव नगरी आफ्नो कर्तव्यमा कटिबद्ध रहनुपर्छ,’ उनले भने, ‘आफ्नो भूमिका र संस्थाको गतिलाई बुझेर नागरिकको भावनाअनुरूप काम गर्नुपर्छ।’

प्रधानमन्त्री शाहले प्रहरी संगठनभित्र पूर्ण प्रतिबद्धताका साथ सहयोग र सहकार्य गर्न पनि आग्रह गरे। सूचना प्रविधिको प्रयोगबाट प्रहरीका कामकारबाहीलाई छिटो, छरितो, सहज र पारदर्शी बनाउन सकिने उल्लेख गर्दै उनले प्रविधिको सदुपयोगले समयमै अपराध अनुसन्धान गर्न र घटनालाई प्रभावकारी रूपमा नियन्त्रणमा लिन सहयोग पुग्ने बताए।

अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक तथा प्रविधिमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही प्रयोग आवश्यक रहेको उनको भनाइ थियो। यसका लागि प्रहरी संगठनको नेतृत्व र प्रशिक्षणको भूमिका महत्त्वपूर्ण हुने उनले उल्लेख गरे।

सरकार प्रहरीलाई अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन र प्रहरी संगठनप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री शाहले बताए।

समारोहमा प्रहरी निरीक्षक आधारभूत तालिम पूरा गरेका ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए। प्रधानमन्त्री शाहले दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। साथै, उनीहरूलाई प्रहरी सेवामा आबद्ध हुन प्रेरित गर्ने परिवारजनप्रति आभार व्यक्त गरे।