प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरीलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।

प्रहरी निरीक्षक आधारभूत तालिम (१–१८४औँ समूह) को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संगठनको प्रोटोकलविपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन प्रहरी अधिकृतलाई आग्रह गरेका हुन्।

उनले कुनै पनि पेशागत सफलताको पहिलो मानक नैतिकता, निष्ठा र इमानदारी भएको बताए।

प्रहरीले पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही पालना गर्नुपर्नेमा उनले जोड दिए।

देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र संकटका बेला नागरिकको जिउधनको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले कुनै पनि अनुचित प्रभावमा नपरी र भेदभाव नराखी कर्तव्यमा अडिग रहन आग्रह गरे।