देशका विभिन्न स्थानमा परेको अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा उपकरणमा आएको खराबीका कारण विद्युत् पूर्वाधारमा व्यापक क्षति पुगेको छ।

पोखरा, बुटवल, हेटौँडा र काठमाडौं क्षेत्रका प्रसारण लाइन, सब-स्टेशन तथा जलविद्युत् आयोजनामा क्षति पुग्दा देशका विभिन्न भागमा विद्युत् आपूर्ति प्रभावित भएको छ। बाढी तथा प्रसारण लाइनमा आएको खराबीका कारण पोखरा क्षेत्रमा विद्युत् आपूर्तिमा सबैभन्दा बढी असर परेको छ।

कुस्मा–न्यू बुटवल २२० किलोभोल्ट प्रसारण लाइनमा समस्या आउँदा करिब २०० मेगावाट तथा राहुघाट–दाना १ र २ नम्बर लाइन अवरुद्ध हुँदा करिब १५५ मेगावाट विद्युत् प्रभावित भएको छ।

त्यस्तै, कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस–नामर्जुङ, सेती नदी–करुवासेट, अपर दोर्दी र मोदीलगायत जलविद्युत् आयोजनामा बाढी पसेपछि उत्पादन तथा आपूर्ति ठप्प भएको छ।

पोखरा क्षेत्रका आयोजनाबाट मात्रै ४०० मेगावाटभन्दा बढी विद्युत् क्षमता प्रभावित भएको छ। राहुघाट र बुटवल क्षेत्रमा न्यू बुटवल–कुस्मा २२० किलोभोल्ट लाइनमा समस्या आउँदा करिब ११० मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ।

न्यू भरतपुर–न्यू बुटवल २२० किलोभोल्ट लाइनमा रुख ढलेर पुगेको क्षति भने मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ। चापर–पथलैया १३२ किलोभोल्ट लाइन बन्द हुँदा कावासोती सब-स्टेशनमा एक घण्टा विद्युत् कटौती गरिएको थियो।

हेटौँडा तथा तराई क्षेत्रमा माण्डु ६६ किलोभोल्ट क्षेत्रमा बाढीका कारण करिब ३२ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ भने भरतपुर सब-स्टेशनमा रहेको क्यापेसिटर भोल्टेज ट्रान्सफर्मर जलेर क्षतिग्रस्त भएको छ।

सिमरा सब-स्टेशनमा करिब २० मेगावाट, अमलेखगञ्ज, परवानीपुर र वीरगञ्जका उद्योगमा करिब ८० मेगावाट तथा कामने सब-स्टेशन र औद्योगिक क्षेत्रमा करिब २५ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ।

काठमाडौं उपत्यकामा पाटन सब-स्टेशन र टेकु क्षेत्रमा बिहान करिब १० मिनेट विद्युत् अवरुद्ध भएको थियो। स्युचाटार ६६ किलोभोल्ट लाइन एकैपटक अत्यधिक चापमा परेपछि आपत्कालीन विद्युत् आपूर्ति प्रयोग गरिएको थियो।

कावासोती, हरदी, सुनवल, सिमरा, अमलेखगञ्ज र वीरगञ्जलगायतका विभिन्न औद्योगिक तथा सब-स्टेशन क्षेत्रमा पनि विभिन्न समयमा विद्युत् कटौती गरिएको छ। प्रसारण लाइन, जलविद्युत् गृह तथा सब-स्टेशनमा आएको अवरोधका कारण हालसम्म देशभर कुल करिब १ हजार ३०३ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ।