धनुषाको मिथिला नगरपालिका–११, आँपगाछीमा पहिरो खस्दा घर पुरिएर एक महिलाको मृत्यु भएको छ।

बिहान करिब ९ः१० बजे राजन श्रेष्ठको एकतले टालीको छानो भएको घर पहिरोले पुरिएको हो। घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ढल्केवर तथा मातहतका प्रहरी र इलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीबाट संयुक्त प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरी टोलीले घरभित्र रहेका पाँच जनामध्ये चार जनालाई सकुशल उद्धार गरेको जनाएको छ। सोही क्रममा बिहान ११ः०० बजे राजन श्रेष्ठकी श्रीमती अन्दाजी ३५ वर्षीया कमला श्रेष्ठलाई मृत अवस्थामा उद्धार गरिएको थियो।

मृतक कमला श्रेष्ठको शव परीक्षणका लागि सरकारी अस्पताल बर्दिबास, महोत्तरी पठाइएको प्रहरीले जनाएको छ।