नेकपा एमालेका सचिव महेश बस्नेतले कार्यदलको बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा नमाग्ने सहमति भएको दाबी गरेका छन्। आइतबार एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिवेदनमा अध्यक्ष ओलीलाई हटाउने कुरा कहीँ कतै नराख्ने सहमति भएको दाबी गरेका हुन्। 

‘एमाले फुटोस् भनेर कतिपय सदस्यले चाहेको परिस्थिति पनि छ। यी तमाम परिस्थितिलाई ध्यान दिएर कार्यदलको बलथलीको बैठक पछाडि तीन जना नेताहरूलाई हामीले आएका सबै मस्यौदा प्रस्तावहरू समेटेर एकीकृत प्रतिवेदन ल्याउन जिम्मेवारी दिएका थियौँ। त्यही आधारमा आज एउटा एकीकृत प्रतिवेदन आयो’, बस्नेतले भने, ‘त्यसमा छलफल गर्न मुख्य आधार बनायौँ । त्यसका सन्दर्भमा अझ अरू केही कुराहरू व्याख्या गर्ने ।’

उनले अध्यक्षको राजीनामा कहीँ कतै नमाग्ने, अध्यक्षलाई हटाउने कुरा कहीँ कतै नगर्ने र अध्यक्षको आलोचना कहीँ कतै नगर्ने सहमति भएको बताए। ‘पार्टीको सुदृढ एकता प्रदर्शन हुने गरी पार्टीलाई जुझारु ढङ्गले अगाडि बढाउने गरी वर्तमान सरकारको अधिनायकवादी प्रतिशोधी निरङ्कुश र जनविरोधी शैलीको सशक्त आन्दोलन गर्ने ढङ्गले राष्ट्रिय परिषद्को बैठक बोलाउने सहमति भएको छ’, सचिव बस्नेतको भनाइ छ।