पछिल्ला केही दिनयता नेपालका सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूमा असोज ८ देखि १२ गतेसम्म हुन सक्ने ठूलो वर्षा र त्यसले ल्याउन सक्ने सम्भावित प्राकृतिक जोखिमको विषय सर्वत्र चर्चामा छ।
जलवायु विशेषज्ञ, मौसमविद् तथा ज्योतिषीहरूले समेत आगामी हप्ता नेपालका धेरैजसो भूभागमा ठूलो प्राकृतिक फेरबदल र भारी वर्षा हुनसक्ने भन्दै पूर्वतयारीका लागि आग्रह गरिरहेका छन्।
वर्षाको मुख्य कारक र मौसमी प्रणाली
मौसमविद्हरूका अनुसार यो सम्भावित वर्षाको मुख्य कारण बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली हो।
भारतको उत्तरपश्चिमी क्षेत्रबाट मनसुन बाहिरिने क्रम शुरू भएसँगै त्यहाँबाट आउने सुक्खा हावा र बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको अन्तरक्रियाले मौसमी प्रणालीलाई थप सक्रिय बनाउने देखिएको छ। यसको प्रत्यक्ष प्रभाव भारतका उत्तरी राज्यहरूका साथै नेपालको ठूलो भूभागमा पर्ने अनुमान गरिएको छ।
मौसमविद्हरूको आकलन: अति भारी वर्षाको जोखिम
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलले विभिन्न अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान मोडेलहरूको अध्ययनका आधारमा असोज ८ देखि १२ सम्म देशभर भारी वर्षाको सम्भावना औंल्याएका छन्। केही मोडेलहरूले यो अवधिमा निश्चित स्थानहरूमा ४०० मिलिमिटरभन्दा बढी र कतिपय अवस्थामा ७४१ मिलिमिटरसम्मको भीषण वर्षा हुन सक्ने देखाएका छन्।
डा. पोखरेलका अनुसार यो तथ्यांक त्रास फैलाउन नभई सम्भावित विपद्बाट जोगिन अग्रिम तयारी गर्न सघाउने उद्देश्यले सार्वजनिक गरिएको हो।
त्यस्तै, अर्का मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि उपलब्ध प्रायः सबै मौसमी मोडेलहरूले असोज ८ देखि १२ सम्मको अवस्था गम्भीर देखाएको उल्लेख गरेका छन्। उनका अनुसार विशेष गरी असोज १० गते वर्षा र बाढी-पहिरोको जोखिम सबैभन्दा उच्च रहने संकेत छ।
उपाध्यायले असोज ८, ९ र १० गते सुदूरपश्चिमबाहेकका क्षेत्रमा लामो दूरीको यात्रा स्थगन गर्न र विपद् व्यवस्थापन संयन्त्रलाई उच्च सतर्कतामा राख्न सुझाव दिएका छन्।
उनी सामाजिक सञ्जालमा लेख्छन्, 'अझै आशावादी छु असोज ८-१२ को सम्भावित भीषणवर्षा केहिमत्थर होला कि भनेर !! तर अहिलेसम्मको अवस्थामा बंगालको खाडीमा बिकसित "अर्नब" नामक चक्रवात र यही समय बिकसित अन्य मौसमीप्रणालीलाई हाल उपलब्ध प्राय: सबै मोडेलहरुबाट नाप्दा अवस्था भयाववह देखिन्छ। संयोगवश १० गते नै सबैभन्दा ठुलोजोखिम हुनसक्ने देखिन्छ। पोहोर (२०८२ कात्तिक महिनामा) पनि अति शक्तिशाली मानिएको "मोन्था चक्रवात"ले भारतीय पुर्वी-समुद्रीतटमा भीषणक्षती गरेपनि नेपाल आइपुग्दासम्म कमजोर भएर न्युनचापीय प्रणालीमा रुपान्तरण भई अनुमानितभन्दा क्षती धेरैकम भएको सुखद उदाहरण पनि छन्। यस्तै केहि चमत्कारको आश छ। लगातार अप्डेट गराईरहने छु।'
ज्योतिषीय विश्लेषण
प्राकृतिक परिवर्तनको यो सम्भावनालाई ज्योतिषीय दृष्टिकोणबाट पनि सावधानी अपनाउनुपर्ने समयका रूपमा विश्लेषण गरिएको छ।
ज्योतिषविद् प्राध्यापक डा. माधवप्रसाद पाण्डेयका अनुसार असोज ५ देखि १२ गतेसम्म चन्द्रमा उत्तराषाढादेखि रेवती नक्षत्रमा भ्रमण गर्दै राहु र शनिको प्रभाव क्षेत्रमा गतिमान हुने भएकाले प्राकृतिक तथा मानवीय रूपमा उच्च सावधानी अपनाउनु आवश्यक देखिन्छ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'आश्विन ५ – १२ सम्म क्रमशः उत्तराषाढा –रेवतीमा भ्रमण गर्ने चन्द्रमा क्रमैले राहु र शनिसँग शनिको क्षेत्रमा गतिमान हुँदा विशेषतः प्राकृतिक र मानवीय सावधानी अपेक्षित देखिन्छ।'
विगतका विनाशकारी घटना र पूर्वतयारीको पाठ
हालैमात्र रसुवा बाढीका कारण हजारौंले ज्यान गुमाएका छन्। त्यस बाढीमा अझै झण्डै ५ हजार भन्दा बढी सम्पर्कबिहीन भएका छन्। नेपालमा मनसुन बाहिरिने अन्तिम चरणमा भारी वर्षा भई ठूलो जनधनको क्षति भएका उदाहरणहरू विगतमा पनि प्रशस्तै छन्।
सन् २०२४ सेप्टेम्बरको अन्तिम साता (असोज ११-१३) बंगालको खाडीबाटै आएको न्यूनचापीय प्रणालीका कारण काठमाडौं उपत्यकालगायत देशका मध्य र पूर्वी भागमा कीर्तिमानी वर्षा भएको थियो। उक्त घटनामा २५० भन्दा बढी मानिसले ज्यान गुमाएका थिए भने अर्बौंका पूर्वाधार, जलविद्युत् आयोजना र सडक सञ्जालमा ठूलो क्षति पुगेको थियो। त्यसैगरी सन् २०२१ अक्टोबर (कात्तिक पहिलो साता) मा मनसुन फर्किसकेपछि आएको बेमौसमी भारी वर्षाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भित्र्याउन लागिएको धानबाली पूर्ण रूपमा नष्ट पारेको थियो।
यस्ता विगतका तीता अनुभवहरूलाई हेर्दा मौसमविद्हरूले दिएको पूर्वसूचनालाई बेवास्ता गर्न मिल्दैन। मनसुनको उत्तरार्धमा जमिन पहिले नै पानीले भिजेर गलेको हुने भएकाले थोरै वर्षाले पनि ठूला पहिरो र लेदोसहितको बाढी निम्त्याउने खतरा रहन्छ।
मौसमविद् तथा विज्ञहरूले सर्वसाधारणलाई नआत्तिन तर हदैसम्मको सजगता अपनाउन आग्रह गरेका छन्। नदी तटार क्षेत्रका बासिन्दा, पहिरोग्रस्त भिरालो जमिन नजिक बसोबास गर्ने समुदाय र यात्राको योजना बनाइरहेका नागरिकले जल तथा मौसम विज्ञान विभागको अद्यावधिक सूचना पछाडि पछ्याउनु पर्छ।
सरकारी निकाय, सुरक्षाकर्मी र विपद् व्यवस्थापन टोलीहरूलाई उद्धार र राहतका लागि तयारी अवस्थामा राख्नु नै सम्भावित क्षति न्यूनीकरण गर्ने मुख्य उपाय हो।












