सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई अगामी सोमबार (भदौ १) इजलासमा उपस्थित गराउन आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एक इजलासमा भएको बहसपछि उक्त आदेश भएको हो। आदेशमा बरामद सामग्रीसहित उपस्थित गराउन भनिएको छ। पत्रकार श्रेष्ठको पक्राउविरुद्ध उनकी पत्नी सरस्वतीले बिहीबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा पक्राउ गरी थुनामा राखिएको छ । प्रहरीले जनआस्था साप्ताहिकको कार्यालय र श्रेष्ठको घर खानतलासी गरी कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका विद्युतीय सामग्री जफत गरेको दाबी बन्दीप्रत्यक्षकरण रिटमा गरिएको छ।

श्रेष्ठको पक्राउबारे जिल्ला अदालत काठमाडौंले बिहीबार नै अनुसन्धानका लागि तीन दिनको थुना म्याद दिएको थियो।