कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने भएको छ। परिवर्तित सत्ता समीकरणअनुसार कोशीमा कांग्रेसका मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका हुन्।
नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङका अनुसार आज बस्ने मन्त्रिपरिषद् बैठकपछि मन्त्रीहरूले राजीनामा दिनेछन्। दिउँसो ३ः३० बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ। सोही बैठकपछि मन्त्रीहरूले राजीनामा बुझाउने तयारी रहेको उनले बताए।
मन्त्रीहरूको राजीनामासँगै कोशी प्रदेशमा पछिल्लो २७ महिनादेखि कायम रहेको नेकपा एमाले र नेपाली कांग्रेसको सत्ता गठबन्धन औपचारिक रूपमा टुट्ने भएको छ। २०८२ पुस २२ गते ५ जना नै मन्त्री बनेका थिए।
अहिले नयाँ सत्ता समीकरणअनुसार मन्त्रालय बाँडफाँट र न्यूनतम् साझा कार्यक्रमबारे छलफल सुरू भइसकेको छ।
नयाँ गठबन्धनअनुसार मन्त्रालयको भागबन्डा टुङ्ग्याउन एमाले र नेकपाका शीर्ष नेताहरू निरन्तर बैठकमा जुटेका छन् र आजै भागबन्डा टुङ्ग्याउने तयारी छ।
हाल कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट १ राज्यमन्त्रीसहित ५ जना मन्त्रीहरू सहभागी छन्।
राजीनामा दिनेहरूमा भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ रहेका छन्।
मन्त्रिपरिषद्को बैठकपछि राजीनामा दिने तयारी रहेको पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङले बताइन्। उनले नेकपा र एमालेका नेताहरूबीच भएको गठबन्धनपछि नै गोजीमा राजीनामा बोकेर हिँडेको बताइन्।












