प्रदर्शनका क्रममा ज्यान गुमाएका रवीन्द्र मेहताको शव हेलिकोप्टरमार्फत बुधबार बिहान सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज ल्याइएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा राखिएको उनको शव बिहान करिब १०ः२० बजे कप्तानगन्ज ल्याइएको हो।

शवलाई सुरुमा मृतकको घरमा लगेर परिवार, आफन्त तथा स्थानीयले श्रद्धाञ्जली अर्पण गरेका थिए। त्यसपछि गाउँमा शवयात्रा निकालिएको छ।

स्थानीय समाजसेवी अमरेश मेहताका अनुसार हरिनगर र देवानगन्ज क्षेत्रमा शवयात्रा गराइँदैछ।

रवीन्द्रको अन्त्येष्टि गोली चलेको स्थानमै गर्ने तयारी गरिएको छ। साँझसम्ममा दाहसंस्कार गरिसक्ने तयारी रहेको मेहताले बताए।

गत साउन १० गते देवानगन्ज–३ कप्तानगन्जमा दुई पक्षबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर रवीन्द्र घाइते भएका थिए। गम्भीर घाइते उनलाई थप उपचारका लागि काठमाडौं लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको थियो।