नेपाली कांग्रेस फुट्ने वा नफुट्ने विषय पूर्वसभापति शेरबहादुर देउवा नेपाल आएर धारणा राखेपछि मात्रै स्पष्ट हुने नेता रमेश लेखकले बताएका छन्।

पूर्वगृहमन्त्रीसमेत रहेका तथा देउवाका विश्वासपात्र मानिने लेखकले देउवाले २९ गते सम्बोधन गरेपछि कांग्रेस कसरी अघि बढ्ने भन्ने विषयमा टुंगो लाग्ने बताए।

संस्थापनइतर समूहले २९ गते काठमाडौंमा शक्ति प्रदर्शनसहित राष्ट्रिय भेला आयोजना गर्दैछ। उक्त भेलामा पूर्वसभापति देउवासहित विभिन्न नेताले समसामयिक राजनीतिक विषयमा धारणा राख्ने कार्यक्रम छ।

‘कसरी अगाडि बढ्ने भन्ने विषयमा शेरबहादुर दाइ आएपछि आफ्ना कुरा राख्नुहोला। त्यसपछि यही गर्ने भन्ने एउटा निष्कर्षमा पुग्छौँ,’ लेखकले भने, ‘२९ गते उहाँसहित अन्य नेताहरूले बोलेपछि सबै कुरा क्लियर हुन्छ।’

फागुनमा हुने निर्वाचनअघि कांग्रेसले विशेष महाधिवेशनमार्फत गगन थापालाई सभापतिमा निर्वाचित गरेको थियो। तर, देउवा पक्षले थापाको नेतृत्वलाई अस्वीकार गर्दै आएको छ।

यसैबीच, नेता शेखर कोइराला पनि पछिल्लो समय देउवा पक्षसँग नजिकिएको चर्चा छ। कोइरालाले समेत २९ गते हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यतालिका रहेको छ।