लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेसले साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने भएको हो।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठकको तयारी गर्न अनुरोध गरिसकेको मुख्यमन्त्री आचार्यका प्रेस सल्लाहकार दशरथ घिमिरेले बताए।

एमाले र नेकपाबिच भएको सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भइसकेको छ। नयाँ सत्ता समीकरणअनुसार नेकपालाई सरकारमा सहभागी गराउने विषयमा भने अन्तिम सहमति जुट्न बाँकी छ।

नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजित थारुले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै आफ्नो दलबाट मन्त्री पठाउने तयारी रहेको जानकारी दिए। लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ९ मन्त्रालय छन्। हाल मुख्यमन्त्रीसहित एमालेका पाँच र जनता समाजवादी पार्टी नेपालका दुई मन्त्री सरकारमा छन्।

८३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ। एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन्। सभामुखले मतदान गर्न नपाउने भएकाले मुख्यमन्त्री आचार्यलाई बहुमत पुर्‍याउन थप दलको समर्थन आवश्यक पर्ने देखिएको छ।