सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले खोला तथा नदीबाट अवैध रूपमा गिट्टी र बालुवाको तस्करी भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। 

प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै उनले धादिङसहित देशभर राज्यलाई कर नतिरी गिट्टी र बालुवाको उत्खनन तथा बिक्री भइरहेको बताएकी हुन्। 

यससम्बन्धी कानुन अपुरो रहेको र भएको कानुनको समेत प्रभावकारी कार्यान्वयन हुन नसकेको उनले उल्लेख गरिन्। हालको मापदण्ड परिमार्जन गर्दै तत्काल कानुन संशोधन गर्न उनले सरकारसँग माग गरिन्। 

बर्खाका महिनाहरूमा कानुन र नियमअनुसार खोलाबाट गिट्टी र बालुवा निकाल्न निषेध गरिएको विषयसमेत उनले स्मरण गराइन्। संसद्मा बोल्दै सांसद तामाङले भनिन्, ‘बर्खे महिनाहरूमा कानुन र नियमअनुसार खोलाबाट गिट्टी र बालुवा निकाल्न निषेधित छ। तर तस्करहरूले एकै रातमा लाखौँ, करोडौँको बालुवा राज्यलाई एक रुपैयाँ कर नतिरी तस्करी गर्छन्।’

यो समस्या आफ्नो जिल्ला धादिङ लगायत नेपालका अधिकांश नदीमा जटिल रूपमा खडा भएको उनले बताइन्। त्यसभन्दा जटिल विषय देशको कानुन र प्रक्रियामा रहेको उनको भनाइ थियो। 

आफ्नो भनाइ स्पष्ट पार्दै उनले थपिन्, ‘मेरो मनसाय ढुङ्गा, गिट्टी र बालुवा निकाल्नै हुँदैन भन्नेमा पटक्कै होइन। तर यसको सही व्यवस्थापनमा कानुन बाधक बन्नु हुँदैन भन्ने हो।’

अहिलेको व्यवस्थाअनुसार चल्नका लागि आवश्यक कानुन संशोधन गर्न उनले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराइन्। नदीजन्य पदार्थको यस्तो अवैध कारोबारका कारण सरकारले करोडौँ राजस्व गुमाइरहेको समेत उनले जानकारी दिइन्।