पाल्पामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। सोमबार बिहान तिनाउ गाउँपालिका–४, चिउरीडाँडास्थित झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरेको लु.१ ज २२३७ नम्बरको मुस्ताङ जिप दुर्घटना हुँदा उनीहरू घाइते भएका हुन्।
दुर्घटनामा तिनाउ–३, सत्यवतीका ३६ वर्षीय खुमबहादुर दिसुवा, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ का १० वर्षीय सन्तोष रेश्मी र तिनाउ–३, सत्यवतीका ५१ वर्षीय नरसिंह दिसुवा घाइते हुनुभएको छ। यस्तै, सोही स्थानकी ३६ वर्षीया शर्मिला दिसुवा, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१८ का ३६ वर्षीय दुर्गा थापा, सोही स्थानका चार वर्षीय डेनिस थापा र माथागढी गाउँपालिका–५ का ४१ वर्षीय मनबहादुर गाहा घाइते हुनुभएको छ।
दुर्घटनामा बुटवल उपमहानगरपालिका–१८ की ३६ वर्षीया सपना राना, जिप चालक माथागढी गाउँपालिका–५ का ३९ वर्षीय देवकुमार घर्ती र स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ का भुवनसिंह रेश्मी पनि घाइते हुनुभएको छ।
घाइतेमध्ये चार वर्षीय डेनिस थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते सबैको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।












