साउदी अरेबियाको राजधानी रियादस्थित एक सोफा कारखानामा भएको भीषण आगलागीमा १६ जना बंगलादेशी नागरिकको मृत्यु भएको छ। बंगलादेशको विदेश मन्त्रालयले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन साउदी अधिकारीसँग समन्वय भइरहेको जनाएको छ।
रियादको मुसा सनैया क्षेत्रमा रहेको सोफा कारखानामा आइतबार आगलागी भएको थियो। घटनामा ज्यान गुमाउने सबै बंगलादेशीनागरिक रहेको बङ्गलादेशको विदेश मन्त्रालयले सोमबार पुष्टि गरेको हो।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै मृतकप्रति गहिरो दुःख तथा परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। कठिन परिस्थितिमा मृतकका परिवारसँग सरकार साथमा रहेको र आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि मन्त्रालयले जनाएको छ।
घटनाको जानकारी पाए लगत्तै रियादस्थित बङ्गलादेशी दूतावासका अधिकारी घटनास्थल पुगेका थिए। दूतावासले साउदी अधिकारीसँग समन्वय गरी आगलागीमा ज्यान गुमाउनेहरूको पहिचान पुष्टि गर्ने तथा शव हस्तान्तरणसम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
रियादस्थित बङ्गलादेशी दूतावासले घटनाबारे थप विवरण सङ्कलन गर्न तथा प्रभावित व्यक्तिलाई आवश्यक सहयोग उपलब्ध गराउन टोली परिचालन गरेको छ। दूतावासका अनुसार मृतकको पहिचान पुष्टि, कानुनी औपचारिकता पूरा गर्ने तथा पीडितका परिवारलाई आवश्यक सहजीकरण गर्ने काम प्राथमिकताका साथ भइरहेको छ।












