त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका रविन्द्र मेहताको शव एक हप्तादेखि अस्पतालमै छ। साउन १९ मा २२ वर्षीय रविन्द्र मेहताको उपचारको क्रममा मृत्यु भएको थियो। उनी देवानगञ्जमा भएको हिन्दु र मुस्लिम समुदाय बिचको दङ्गामा परेर घाइते भएका हुन्।

सरकार पक्ष र मृतकका परिवारसँग सहमति हुन नसक्दा रविन्द्रको शवको पोस्टमार्टम हुन सकेको छैन। पीडित पक्षले शव परीक्षण गर्नुअघि नै सहिद घोषणा गर्नुपर्ने अडान राखेका छन्। सहिद घोषणा गर्न निश्चित कार्यविधि पुरा गर्नुपर्ने हुनाले सहमति हुन नसकेको गृहमन्त्री सुधन गुरुङका स्वकीय सचिवले बताए।

उनले भने– ‘सहिद घोषणा गर्ने विषयमा गृहमन्त्री सकारात्मक हुनुहुन्छ तर, त्यसअघि पोस्टमार्टम गर्नुपर्ने कुरा हामीले गरेका छौँ।’ रविन्द्रको शरीरमा एउटा गोली लागेको छ। सो गोलीको व्यालेष्टिक जाँच पहिले गर्नुपर्ने मृतकको परिवारले माग राखेका छन्। तर, गृह प्रशासनले पोस्टमार्टम गरेपछि मात्र थप प्रक्रिया अघि बढाउने बताउँदै आएको छ।

रविन्द्रका परिवारसँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ साउन १९ मा शिक्षण अस्पतालमा गएका थिए। त्यसपछि एक पटक गृह मन्त्रालयमा बोलाएर उनले मृतकका परिवारसँग छलफल गरेका छन्।

लगातार छलफल भए पनि शहीद घोषणा गर्नुपर्ने र दोषीलाई पक्राउ गर्नुपर्ने मृतकका परिवारले अडान राखेपछि छलफल निष्कर्षमा पुग्न नसकेको सुनसरी–२ का सांसद लालविक्रम थापाले बताए।

उनले भने, ‘सहिद घोषणा गर्ने कुरा सरकार पक्षले अरु मृतकहरूसँगै एकैपटक गर्नुपर्छ भनेको छ तर, रविन्द्रका परिवारले त्यसमा पहिला शहीद घोषणा गरेपछि मात्रै अघि बढ्ने कुरा गर्नुभएको छ।’

पछिल्लो समय सुनसरी र सिराहामा भएको दङ्गामा परेर ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कप्तानगञ्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र सिराहा औरही गाउँपालिकाका गणेश यादव छन्।