प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई संसदमा आएर सीमाबारे विवादित अभिव्यक्ति सच्याउन र प्रतिपक्षीहरूसँग सहकार्य गर्न आग्रह गरेको छ। प्रतिनिधि सभाको आजको बैठक सुरू हुनेबित्तिकै बोलेकी कांग्रेस सांसद रेनुका काउचाले प्रधानमन्त्री एक्लो नरहेको र प्रतिपक्षी साथमा रहेको पनि बताइन्।

‘प्रधानमन्त्रीले दिनुभएको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिमा प्रतिपक्षीले निरन्तर प्रश्न उठाइरहेको छ, दिन बितिरहेका छन्, संसद चलिरहेको छ तर प्रधानमन्त्रीबाट न स्पष्ट जबाफ आएको छ न आफ्नो अभिव्यक्तिबारे विश्वस्त पार्ने प्रयास भएको छ,’ उनले भनिन्, ‘प्रधानमन्त्रीज्यू, सांसदले प्रश्न सोध्नु घेराबन्दी होइन। प्रतिपक्षीले जबाफ माग्नु असहयोग होइन र सरकारलाई सचेत गराउनु अपमान होइन।’

प्रतिपक्षीले दैनिक प्रश्न उठाउँदा जबाफ नदिने प्रधानमन्त्रीले सत्तापक्षका सांसदले सरकारको खबरदारी गर्न खोज्दा मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भन्ने स्टाटस आएको उनको भनाइ छ।

‘प्रधानमन्त्रीलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयोरु यसको अनुमान विभिन्न ढंगले गर्न सकिन्छ तर प्रतिपक्षको तर्फबाट म स्पष्ट भन्न चाहन्छु- कालो चस्मा खोल्नुस् तपाईं एक्लो हुनुहुन्न। मुलुकको हितमा तपाईंले चाल्ने सही कदममा प्रतिपक्ष साथमा छ तर विधि प्रक्रिया लोकतान्त्रिक मूल्यमान्यता र संविधान तथा संसदको सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्षी मौन बस्न सक्दैन,’ उनले भनिन्।

उनले प्रधानमन्त्री सत्तापक्षको मात्र नभई सबैको भएको पनि बताइन्। उनले सीमाबारे दिएका अभिव्यक्तिका गल्ती स्वीकार गर्न पनि आग्रह गरेकी थिइन्। उनले विवेकलाई बन्धनमा नराखी सत्ता पक्षका केही सांसदले प्रश्न उठाएकोमा प्रशंसा पनि गरेकी थिइन्।

‘सरकारलाई सही बाटोमा हिँडाउन सत्तापक्षको खबरदारी र प्रतिपक्षको आलोचना दुवै आवश्यक हुन्छ,’ उनले भनिन्, ‘प्रधानमन्त्रीज्यू तपाईंलाई एउटा आग्रह छ, प्रतिपक्षसँग नडराउनुस्, संवाद गर्नुस्। संसदलाई सम्बोधन गर्नुस्। सीमा अभिव्यक्तिबारे तपाईंको अन्तर मन चाहन्छ भने जनता र संसदसँग क्षमा माग्नुहोस् यसले तपाईंको लोकतान्त्रिक कद बढाउँछ।’

मुलुकको हितमा उभिए प्रतिपक्ष साथमा उभिने पनि उनले बताइन्। ‘राष्ट्रिय हितभन्दा ठूलो कुनै दल हुँदैन, सचिवालय मात्रले शासन चल्दैन,’ उनले भनिन्, ‘सभामुखले रूलिङ गरेर प्रधानमन्त्रीलाई जबाफ दिन संसदमा बोलाउनुहोस्।’