गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणको विषय संसद्मा नउठाउन सांसदहरूलाई आग्रह गरेका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस विषयमा सूक्ष्म ढंगले अनुसन्धान भइरहेको बताए ।
प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले ‘कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो ?' भनी सोधेका थिए । 'यो राज्य संयन्त्रको अक्षमता हो कि कारबाही गर्न नचाहेको हो ? सरकारले हाम्री चेली निर्मलालाई कहिलेसम्म न्याय दिलाउँछ ?’ भन्ने प्रश्नमा गृहमन्त्री गुरुङले प्रतिप्रश्न गरे 'तपाईंहरु सत्तामा हुँदा किन नगर्नुभएको ?'
उनले मुलुकमा शान्ति–सुरक्षा कायम राख्ने दायित्वअनुसार हत्या, हिंसा र बलात्कारजस्ता गम्भीर अपराधको अनुसन्धान निरन्तर भइरहेको बताए ।
‘सरकार मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नको लागि निरन्तर लागिरहेको छ । यो गृह मन्त्रालयको मुख्य जिम्मेवारी भएकाले पनि यस सचेत छ । हत्या, हिंसा, बलात्कार अगायतका अपराधहरुको अनुन्धान हामीले क्रमबद्ध रुपले गरिरहेका छौँ,' उनले भने, 'यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु- हजुरहरु सत्तामा हुँदा किन नगर्नुभएको हो ? यस्तो गम्भीर विषयमा निर्मला पन्तको आमालाई पीडा दिइरहने हो कि सूक्ष्म रुपले अनुसन्धान गरेर नतिजा दिने हो ? त्यसकारण यस विषयमा धेरै बोल्नु उचित हुँदैन ।' अब यस्ता प्रश्न राष्ट्रिय सभा र प्रतिनिधिसभामा नउठाउन पनि उनले आग्रह गरे।
पीडित परिवारलाई थप पीडा दिनेगरी बलात्कार जस्ता संवेदनशील विषय संसद्मा नभई व्यक्तिगत रुपमा राख्न समेत उनले आग्रह गरे ।












