मनसुनी वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढिरहेका बेला संखुवासभा र सुनसरीमा छुट्टाछुट्टै घटनामा दुई जना बेपत्ता भएका छन्।

संखुवासभाको मकालु गाउँपालिका–५ फाकफुकस्थित सिमली खोला तर्ने क्रममा इदुवा हाइड्रोपावरका सुपरभाइजर २८ वर्षीय स्वागत निरौला बेपत्ता भएका हुन्।

खाँदबारी–१० निवासी निरौला साथीहरूसँग खाना खाएर बुधबार राति करिब ११ बजे हाइड्रोपावरको आवासतर्फ फर्किरहेका बेला सिमली खोला तर्ने क्रममा बगेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले उनको खोजी अभियान सञ्चालन गरिरहेको छ। अहिलेसम्म उनको अवस्था खुल्न सकेको छैन।

यस्तै, सुनसरीको दुहबी नगरपालिका–११ मिल टोलस्थित धनसुना खोला तर्ने क्रममा ६० वर्षीय रविलाल उराव पनि बेपत्ता भएका छन्।

प्रहरीका अनुसार बुधबार साँझ करिब ५ः३० बजे बाँसबाट बनाइएको अस्थायी पुल तर्दै गर्दा चिप्लिएर उराव खोलामा खसेका थिए।

उरावको खोजी कार्य पनि प्रहरी र स्थानीयवासीको सहयोगमा जारी रहेको अस्थायी प्रहरी चौकी तनमुनाले जनाएको छ।