सुनसरीको धरान उपमहानगरपालिका–१६ पौडेल चोकबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३ का २२ वर्षीय अनिष तामाङ, सोही स्थानकी १८ वर्षीया प्रतिमा राजधामी, धरान–१६ का १८ वर्षीय निराजन तामाङ, पाँचथरको फिदिम नगरपालिका–१ का २१ वर्षीय पुरप राना मगर तथा सोही स्थानका २१ वर्षीय अभिनाश थापा मगर रहनुभएको छ।
सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लका अनुसार पक्राउ परेकाहरूको साथबाट ट्रामाडोल ३१६ पिस, स्पासपेन–फ्री १९५ पिस, स्पासप्रो १०० पिस र स्पासरेस्ट १८ पिस गरी जम्मा ६२६ पिस ट्याब्लेट तथा क्याप्सुल बरामद गरिएको छ।
पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मल्लले जानकारी दिनुभयो।












