पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार बिहान १२ हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना हुँदा आगलागी भएको छ।
अमलेखगञ्ज डिपोबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर बिहान करिब साढे पाँच बजे अनियन्त्रित भई सडकमै पल्टिएपछि आगलागी भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार दुर्घटनालगत्तै ट्याङ्करमा भीषण आगो सल्किएको हो। चालक भने समयमै बाहिर निस्कन सफल हुँदा सकुशल रहेका छन्। घटनामा कुनै पनि किसिमको मानवीय क्षति नभएको प्रहरीले पुष्टि गरेको छ।
आगलागीको खबर प्राप्त हुनासाथ घटनास्थल पुगेको दमकल, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको छ।












