राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकारका सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनलले वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको जानकारी दिए। उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मिलेर प्रदेशमा सरकार गठन गर्नुपर्ने राप्रपाको धारणा रहेको बताए।

‘केही प्रदेशहरूमा सरकार फेरबदलका सन्दर्भमा पनि छलफल गरेका छौं,’ उनले भने, ‘यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी सामेल छैन। र, त्यसप्रकारको गतिबिधिमा राप्रपा लालायित पनि छैन। राप्रपा मूलतः प्रदेश सरकारहरू कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीहरू मिलेरै बनाउन भन्ने धारणा राख्दछ।’

त्यतिले नभए राप्रपाले निर्णय नै गर्ने अवस्था आए उपयुक्त समयमा उपयुक्त निर्णय लिइने उनले बताए। ‘उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्षलाई दिने भन्ने टुंगो लागेको छ,’ अध्यक्ष लिङ्देनले भने।