देशका ७२ जिल्लाबाट दुई हजार २५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार पुस यता देशका ७२ जिल्लाबाट दुई हजार २५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि हुनुका साथै दुई जनाको मृत्यु भएको छ।
प्रदेश अनुसार सबै भन्दा बढी कोशी प्रदेशमा ५६८, गण्डकीमा ५३२, बागमतीमा ३६५, लुम्बिनीमा ३४३, सुदूरपश्चिम १०३, मधेशमा ७२, कर्णली प्रदेशमा ४२ जनामा डेङ्गु पुष्टि भएको छ।
वर्षको समयमा वर्षापछि डेङ्गु सङ्क्रमण थप बढ्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाले घर, आँगन तथा वरपर पानी जम्न नदिन, लामखुट्टेको टोकाइबाट बच्ने, पूरा बाहुला भएका लुगा लगाउने, झुलको प्रयोग गर्ने र ज्वरो आएमा स्वास्थ्य संस्थामा गई परीक्षण तथा उपचार गराउन अनुरोध गरेको छ।
महाशाखाले वर्षयामसँगै डेङ्गु सङ्क्रमणको जोखिम बढ्दै हुँदा यसलाई नियन्त्रण गर्न साउन देखि तीन महिने डेङ्गु सचेतना अभियान सञ्चालन गरेको दाहालले जानकारी दिनुभयो।
महाशाखाले डेङ्गु नियन्त्रणमा सरकारी निकाय, स्थानीय तह र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै तीन महिने सचेतना अभियानलाई प्रभावकारी बनाउन आग्रह गरेको छ।












