जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न सार्वजनिक स्थान तथा सडकखण्डमा राखिएका एकल जातीय, धार्मिक, साम्प्रदायिक तथा विशेष पहिचान जनाउने झण्डा र ध्वजापताका तीन दिनभित्र हटाउन सार्वजनिक अपिल जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी सूचनामा विभिन्न समयमा विभिन्न प्रयोजनका लागि सार्वजनिक स्थानमा राखिएका यस्ता झण्डा तथा ध्वजापताकाहरू तोकिएको समयसीमाभित्र हटाउन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ।

प्रशासनले सार्वजनिक स्थलमा राखिएका यस्ता सामग्री हटाएपछि पुनः नराख्न पनि अनुरोध गरेको छ। यसका लागि सम्बन्धित स्थानीय तह, सरोकारवाला निकाय तथा सबै पक्षबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको सूचनामा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थानको व्यवस्थापन, सामाजिक सद्भाव तथा शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले उक्त अपिल जारी गरिएको जनाएको छ।

प्रशासनले सबै पक्षलाई सूचनाको पालना गर्दै सामाजिक सद्भाव र कानुनी व्यवस्थाको संरक्षणमा सहयोग गर्न आग्रह गरेको छ।