सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत १० गते (आइतबार) राति भएको घटनामा घाइते गोली लागेर घाइते रविन्द्र मेहताको उपचारका क्रममा निधन भएपछि पीडित पक्ष आन्दोलनमा उत्रिएको छ।
मेहताको परिवारसहित छिमेरकी गाउँलेहरू उक्त घटनामा गोली चलाउन आदेश दिनेलाई कारबाही नभएसम्म शव नबुझ्ने अडानमा छन्।
उनीहरूले अहिले कप्तानगञ्जको सडकमा रुख ढालेर अवरुद्ध गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिनको पनि माग गरेका छन्।
उक्त घटनामा गोली लागेर हालसम्म ३ जनाको मृत्यु भएको छ। अहिले पनि गोली लागेका ७ जना उपचाररत छन्। जसमध्ये एकजनाको खुट्टा नै काटिएको छ।
गोली लागेका युवक मेहताको मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। यसअघि त्यही घटनाका घाइते भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भइसकेको थियो।












