राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरी र मधेशमा देखिएको साम्प्रदायिक तनावका सन्दर्भमा धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको आवश्यकता औंल्याएको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका सांसद ताहिर अली भाटले आफू मुस्लिमको छोरो भएर पनि हिन्दू राष्ट्र र सर्वधर्म सद्भावको पक्षमा रहेको बताए।
सांसद भाटले सुनसरी घटनामा परी ज्यान गुमाउनेको संख्या चार पुगेको उल्लेख गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरे।
धार्मिक ग्रन्थको व्याख्या गर्दै उनले भने, ‘गीतामा “वसुधैव कुटुम्बकम्” र “सर्वे भवन्तु सुखिनः” लेखिएको छ। यसले विश्वका सबै प्राणी एउटै परिवार हुन् र सबै सुखी हुन् भन्ने सन्देश दिन्छ। कतै पनि मुस्लिम सुखी नहून् भनेर लेखिएको छैन।’
भाटले कुरानको पनि चर्चा गरे। ‘कुरानमा “अल्हम्दुलिल्लाहि रब्बिल आलमीन” भनिएको छ, जसको अर्थ अल्लाह सारा संसारका मालिक हुन् भन्ने हुन्छ। त्यहाँ “रब्बिल मुस्लिमीन” (मुसलमानका मात्र मालिक) भनिएको छैन,’ उनले भने।
प्रतिपक्षी दलका सांसद भए पनि भाटले गृहमन्त्री सुधन गुरुङको भूमिकाको खुलेर प्रशंसा गरे। मधेशमा साम्प्रदायिक तनाव चुलिरहेका बेला गृहमन्त्री स्वयं प्रभावित क्षेत्रमा पुगेर समस्या समाधानको पहल गरेकोमा उनले धन्यवाद दिए।
‘म प्रतिपक्षी भए पनि गृहमन्त्रीज्यूले गरेको सकारात्मक कामका लागि धन्यवाद दिन्छु। उहाँले आगोमा हाम फालेर परिस्थितिलाई शान्त बनाउनुभयो,’ भाटले भने।
राप्रपाले उठाउँदै आएको हिन्दू राष्ट्रको माग स्पष्ट पार्दै उनले भने, ‘म मुस्लिमको छोरो भएर हिन्दू राष्ट्रकै पार्टीमा छु। राप्रपाले मागेको हिन्दू राष्ट्र काटमार गर्ने होइन, बरु सबै धर्मबीच सद्भाव र सम्मान कायम गर्ने पहिचानका लागि हो।’
उनले विगतमा नेपाल हिन्दू राष्ट्र हुँदा पनि नेपाली मुस्लिमहरूले नेपाली टोपी र राष्ट्रिय झण्डासहित गर्वका साथ हज यात्रामा जाने गरेको स्मरण गरे।
नेपालको इतिहासमा मुस्लिम समुदायले राष्ट्रिय अखण्डता र एकतामा सधैं योगदान दिएको उल्लेख गर्दै सांसद भाटले साम्प्रदायिक सद्भाव बिग्रन नदिन सबैलाई आग्रह गरे।












