राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला घटनाप्रति दुःख व्यक्त गर्दै राज्यले समस्याको समाधानका लागि बल प्रयोगभन्दा संवाद र सामाजिक विकासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले पछिल्लो घटनामा ज्यान गुमाएका चार जना युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे।

उनले भने,‘ आज धेरै दुखको साथ उभिएको छु–पछिल्लो हप्तामा तराई–मधेशमा विभिन्न घटना घट्यो, त्यो सारै दुःखद हो। चार जना युवाले आफ्नो ज्यान गुमाए, उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। पहिला घटनास्थलमा ओमप्रकाश मेहता, पछि उपचारको क्रममा जयप्रकाश मेहता र आजै रबिन्द्र मेहताजीको निधन भएको छ। र सिराहाको घटनामा गणेश यादवजीको निधन भएको थियो। उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गर्न चाहन्छु।’

उनले ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्र मेहता र सिराहाका गणेश यादवको मृत्युले आफू दुःखी भएको बताए। उनले देशको अहिलेको आवश्यकता सामाजिक सद्भाव कायम गर्नु र गरिबी, पछौटेपन तथा असमानताविरुद्ध लड्नु रहेको उल्लेख गरे।

सांसद सिंहले समुदाय–समुदायबीच द्वन्द्व सिर्जना गर्ने समय नभएको भन्दै सबै पक्षलाई संयमित हुन आग्रह गरे। रास्वपा सभापति रवि लामिछानेको पहलमा भएको सर्वदलीय बैठकको प्रशंसा गर्दै उनले यस्तो प्रयास सकारात्मक भएको बताए।

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेको विषयलाई स्वागत गर्दै उनले उक्त पहल अझ पहिले हुनुपर्ने धारणा राखे।

सांसद सिंहले मधेशमा हुने आन्दोलन र घटनाका क्रममा राज्यले गर्ने बल प्रयोगको शैलीमाथि प्रश्न उठाए। उनले सुरक्षाकर्मीले प्रदर्शन नियन्त्रणका लागि लाठीचार्ज, अश्रुग्यासलगायतका वैकल्पिक उपाय प्रयोग गर्नुपर्नेमा सिधै गोली चलाउने अवस्था अन्त्य हुनुपर्ने बताए।

उनले नेपालमा सुरक्षाकर्मीलाई दिइने तालिम र भीड नियन्त्रणको अभ्यासमा सुधार आवश्यक रहेको उल्लेख गर्दै मधेशमा सुरक्षा निकायप्रति विश्वासको वातावरण बनाउनुपर्ने बताए।

सांसद सिंहले सरकारले सुरक्षाकर्मी परिचालनमा देखाउने तत्परता शिक्षा, स्वास्थ्य र विकासका क्षेत्रमा पनि देखाउनुपर्ने बताए । मधेशमा हजारौँ सुरक्षाकर्मी परिचालन गरिए पनि शिक्षक, चिकित्सक र इन्जिनियर परिचालनमा ध्यान नदिएको उनको आरोप थियो।

उनले मधेशलाई पछाडि पार्ने र समस्या उत्पन्न भएपछि मात्र बल प्रयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । मधेश अब धेरै सहन सक्दैन भन्दै उनले सरकारलाई गम्भीर बन्न आग्रह गरे।