श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले नेपालमा नेपाली सेनाबाहेक अन्य कुनै पनि नाममा ‘सेना’ गठन गर्न नपाइने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले गृहमन्त्रीले ‘हिन्दू सम्राट सेना’ नामक समूहसँग वार्ता गरेको प्रसंग उल्लेख गर्दै नेपालमा सेना नामका विभिन्न समूह गठन गर्न कसले अनुमति दिएको भन्दै प्रश्न उठाए।

‘नेपाल सार्वभौम देश हो। यहाँ एउटै मात्र सेनाको नाम छ, त्यो नेपाली सेना हो’, उनले भने, ‘अब यसरी ठाउँठाउँमा सेना गठन गर्ने छुट कसले कसलाई दिएको हो ? सेना गठन गर्न पाउने मापदण्ड के हो ? यदि एउटै मात्र सेना रहनुपर्छ भने सेना नामका यस्ता समूहलाई सरकारले निषेध गर्नुपर्छ। त्यस्ता सेना नामका समूहसँग वार्ता पनि गर्नु हुँदैन।’

राईले सांसदलाई देशभर निर्वाध रूपमा आवतजावत गर्न पाउने वातावरण सुनिश्चित गर्न पनि सरकारसँग माग गरे। जनकपुर जाँदा आफूलाई एक समूहले निषेध गर्ने प्रयास गरेको र आफ्ना समर्थकमाथि कुटपिट भएको दाबी गर्दै उनले घटनामा संलग्नमाथि कारबाही भए वा नभएकोबारे सरकारसँग जवाफ मागे।

‘साउन ५ गते जनकपुर जाँदा हाम्रा श्रमदातामाथि अज्ञात समूहले कुटपिट गर्‍यो। यसबारे मैले गृहमन्त्रीलाई फोन गरेर जानकारी गराएको थिए। कारबाही भयो कि भएन ? हुन्छ कि हुँदैन ?’ उनले प्रश्न गरे।

राईले कोशी ब्यारेजका ५६ वटा ढोकाको व्यवस्थापनबारे पनि सरकारको ध्यानाकर्षण गराए। बर्खायाममा आफ्नो भूभाग डुबाएर कस्तो राष्ट्रवाद प्रदर्शन गर्न खोजिएको हो भन्दै उनले सीमावर्ती क्षेत्रका समस्याप्रति सरकार गम्भीर हुनुपर्ने बताए।

हालै सुनसरी, सिरहा लगायतका जिल्लामा भएका घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने माग गर्दै उनले सम्भावित घटना हुनुअघि नै सरकारले सक्रिय रूपमा काम गर्नुपर्नेमा जोड दिए।