मोरङको बेलबारी नगरपालिका–९ गैराखुनीमा मोटरसाइकल दुर्घटना हुँदा २९ वर्षीय युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसार सोमबार राति करिब ११ बजे डाँगाबजारबाट बाउनीतर्फ जाँदै गरेको को ३२ प ३२४३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक बेलबारी नगरपालिका–९ निवासी २९ वर्षीय सनम खवास गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो।

उपचारकै क्रममा मंगलबार राति १ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी डाँगाबजारबाट प्रहरी निरीक्षक सन्तोष कटुवालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिई घटनास्थल सुरक्षित राखेको जनाएको छ।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक राजीव गिरीको नेतृत्वको टोली समेत खटिएको प्रहरीले जनाएको छ।