प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दै छ। बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो।
बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्नुहुने कार्यसूची रहेको छ।
आजको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ।
यसैगरी, सांसद आङ्देम्बेले ‘वास्तविक भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनःस्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गरी सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको निरन्तरतालाई ध्यान दिइ उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवम् सुकुम्बासीलाई यथाशीघ्र लालपुर्जा वितरण गराउन आवश्यक भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस प्रस्तावको समर्थकमा सांसदहरू ऐनबहादुर महर, युवराज दुलाल र आरेन राई छन्।












