गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा नाका र भन्सार कार्यालयको निरीक्षणका क्रममा तस्करी भइरहेको भन्दै एक स्थानीय महिलाले प्रत्यक्ष गुनासो गरेपछि सीमा क्षेत्रमा कार्यरत प्रहरीमाथि व्यापक अनुसन्धान सुरु गरिएको छ।
प्रहरी स्रोतका अनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी निशेष चापागाईं र बोर्डर आउट पोस्ट (बिओपी) काँकडभिट्टाका डीएसपी विकास थापासहित ११ जना प्रहरी कर्मचारी अनुसन्धानको दायरामा परेका छन्। अनुसन्धानका क्रममा उनीहरूको मोबाइल नियन्त्रणमा लिएर आवश्यक छानबिन अघि बढाइएको छ।
अनुसन्धानमा नेपाल प्रहरीका पाँच जना र सशस्त्र प्रहरी बलका छ जना गरी ११ जना प्रहरी कर्मचारी समावेश छन्। उनीहरूमाथि झापाका विभिन्न सीमा नाकाबाट हुने तस्करीमा संलग्न गिरोहसँग मिलेमतो गरी अवैध गतिविधिलाई संरक्षण दिएको आरोपमा छानबिन भइरहेको स्रोतले जनाएको छ।
अनुसन्धानको दायरामा परेकामध्ये केही सादा पोशाकमा खटिने प्रहरीसमेत रहेका छन्। उनीहरूलाई मुख्यालयमा तानेर बयान लिने तथा अन्य प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतको भनाइ छ।




















