विश्वकपको समूह ‘एफ’ को खेलमा जापानले ट्युनिसियामाथि ४–० को सानदार जित निकालेको छ। खेलको सुरुवातदेखि नै आक्रामक बनेको जापानका लागि ड्याची कामाडा, आयुसे उएडा र जे आइटोले गोल गरे।

खेल सुरु भएको चौथो मिनेटमै कामाडाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि उएडाले उत्कृष्ट ‘लो स्ट्राइक’ मार्फत ३१ र ८३ मिनेटमा गोल गरेका हुन्। थापानका लागि ६९ मिनेटमा जे आइटोले गोल गरेका हुन्।

पहिलो हाफमा दुई गोल गरेको जापानले दोस्रो हाफमा थप दुई गोल गरेको हो। आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी खेलेको जापान आजको खेलमा विजयी भएसँगै अन्तिम ३२ नजिक पुगेको छ।

लगातार दुई खेलमा पराजित भएको ट्युनिसिया समूह चरणबाटै बाहिरिएको छ। यसअघि पहिलो खेलमा ट्युनिसिया स्विडेनसँग पराजित भएको थियो।

यो जितसँगै जापानले दुई खेलबाट चार अंक जोडेको छ। यो समूहमा समान खेल खेलेका नेदरल्यान्ड्स, जापान र स्वीडेनको समान चार चार अंक छ। गोल अन्तरका आधारमा नेदरल्यान्डस शीर्ष स्थानमा भने जापान र स्वीडेन दोस्रो र तेस्रो स्थानमा छन्।