बाजुराको बुढीगंगा नगरपालिका–८ रिठाबजारस्थित साँफेबगर–मार्तडी सडकखण्डमा आइतबार बिहान बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।
महेन्द्रनगरबाट मार्तडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३५५ नम्बरको बस बिहान करिब ७ः१० बजे ब्रेक फेल भई सडकको बाँया नालीतर्फ पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
दुर्घटनामा घाइते भएका २३ जनालाई जिल्ला अस्पताल बाजुरामा उपचारका लागि पुर्याइएको छ। एक जना घाइतेलाई थप उपचारका लागि बयालपाटा अस्पताल अछाम पठाइएको प्रहरीले जनाएको छ। अन्य दुई जना घाइते भने आफैं मोटरसाइकलमार्फत उपचारका लागि अस्पताल गएको जिल्ला प्रहरी कार्यालय बाजुराका इन्स्पेक्टर नरेश बहादुर शाहीले जानकारी दिए।
उनका अनुसार दुर्घटनाग्रस्त बस खप्तड छेडेदह गाउँपालिका–५ दोगडी निवासी ४३ वर्षीय खडक बुढाले चलाएका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट रिठाबजार, प्रहरी चौकी बार्जुगाड तथा जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी टोली खटिएको थियो। घाइतेको उद्धारका लागि बडिमालिका नगरपालिका र जिल्ला अस्पताल बाजुराका एम्बुलेन्स परिचालन गरिएको प्रहरीले जनाएको छ।
घाइतेहरूको नाम, ठेगाना तथा स्वास्थ्य अवस्थासम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।




















