पछिल्लो समय स्थानीय तहहरूमा भुक्तानी प्रक्रियामा गम्भीर समस्या देखिन थालेको छ। स्थानीय निकायहरूले प्रयोग गर्दै आएको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (SUTRA) प्रभावकारी रूपमा नचल्दा दैनिक सेवा प्रवाह प्रभावित भएको हो।

विशेषगरी जेन्जी आन्दोलन पश्चात् प्रणालीमा देखिएको प्राविधिक अवरोधका कारण भुक्तानी प्रक्रिया सुस्त मात्र होइन, कतिपय स्थानमा पूर्णरूपमा अवरुद्ध भएको स्थानीय तहहरूले बताएका छन्। यसले गर्दा सेवाग्राहीहरू आवश्यक भुक्तानी नपाएर हैरानीमा परेका छन्।

लेखा शाखामा दैनिकजसो सेवाग्राहीको भीड बढ्दै गएको छ भने ढिलाइका कारण उनीहरू आक्रोशित हुँदै कर्मचारीसँग विवाद गर्ने, रिसाउने जस्ता घटना पनि बढिरहेका छन्। “सिस्टम नै राम्रोसँग नचल्दा काम गर्न निकै गाह्रो भएको छ, तर दोष हामीले खानुपरेको छ,” एक कर्मचारीले गुनासो गरे।

कर्मचारीहरूका अनुसार SUTRA प्रणाली पटक–पटक ह्याङ हुने, डाटा लोड नहुने तथा भुक्तानी प्रक्रिया पूरा नहुने समस्या देखिएको छ। प्राविधिक समस्या समयमै समाधान नहुँदा स्थानीय तहको वित्तीय व्यवस्थापनमा समेत असर परेको छ।

यसबीच सरोकारवालाहरूले सम्बन्धित निकायसँग प्रणालीको स्थायित्व र सुधारका लागि तत्काल पहल गर्न माग गरेका छन्। अन्यथा सेवाप्रवाहमा थप अवरोध आउने र जनस्तरमा असन्तुष्टि चुलिँदै जाने चिन्ता व्यक्त गरिएको छ।

महालेखा नियन्त्रण कार्यालयले यस विषयमा ध्यान नदिने हो भने आर्थिक वर्षको अन्त्यतिर अत्याधिक सेवाग्राहीको चाप बढ्ने हुनाले विभिन्न समस्याहरू आउने देखिन्छ जसले गर्दा बेलैमा ध्यान दिन जरुरी छ।