विपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेको बीचमा जवरजस्ती सवारी साधन लैजाने माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी तथा ट्राफिक प्रहरीबाट खटिएको प्रहरी टोलीले सुरक्षित स्थानमा रोक्दारोक्दै लापरबाहीपूर्ण तरिकाले जोखिमयुक्त स्थानमा सवारी साधन लैजाने माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

यसअघि सोमबार राती लास्कोट र घुमाउनेको बीचमा फसेका ५ माइक्रोबसका ८९ यात्रुलाई सुरक्षा निकायले उद्धार गरेको थियो।

बर्सातपछिको बाढीले रोशी क्षेत्रमा विपी राजमार्गमा बनाइएको अस्थायी डाइभर्सन बगाउन थालेपछि सुरक्षा निकायले सोमबार साँझ नै उक्त क्षेत्रमा आवागमन बन्द गराएको थियो। तर केही चालकले भने जबरजस्ती सवारी साधन अघि बढाएका थिए।

प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।