मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित सलकपुरमा ट्रकसँग तीन जना सवार मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ का २० वर्षीय अनिष बुढाथोकीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका बुढाथोकीलाई उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुन्दरहरैँचा–७ का १९ वर्षीय आषिक विक र १८ वर्षीय हरिबहादुर विक घाइते भएका छन्। उनीहरुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रदेश १–०१–००१ ख ४३०३ नम्बरको ट्रकलाई को १० प ८१२८ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्ने क्रममा आज बिहान ११ः४० बजेतिर दुर्घटना भएको मोरङका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए।
दुर्घटना लगत्तै प्रहरीले ट्रक र चालक सुनसरीको दुहबी नगरपालिका–८ का २३ वर्षीय रोकश खड्कालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ।


















