विराटनगर । नेपाली राजनीतिमा यतिबेला पुस्तान्तरण र नयाँ नेतृत्वको बहसले निकै तीव्रता पाएको छ। विशेष गरी फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट धेरै संख्यामा युवाहरू निर्वाचित भएर आएसँगै प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेभित्र संसदीय दलको नेतृत्वमा युवाको चर्चा हुन थालेको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बन्ने चर्चाले धेरै युवाहरूमा अब देशमा केही परिवर्तन हुन्छ भन्ने आशा जगाइरहँदा, यसैको प्रभावस्वरूप पछिल्ला दिनहरूमा पुराना दलहरूभित्र पनि ‘युवालाई नेतृत्व’ दिनुपर्ने दबाब बढेको देखिन्छ। यही बहसको केन्द्रमा अहिले इलामबाट निर्वाचित दुई युवा अनुहार– निश्कल राई र सुहाङ नेम्वाङ उभिएका छन्।
निर्वाचनको नतिजा हेर्ने हो भने इलाम–१ बाट नेपाली कांग्रेसका निश्कल राईले १४ हजार ५ सय ४३ मत प्राप्त गरी विजयी झण्डा गाडेका छन् भने इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङले २२ हजार ४ सय २६ मतसहित सानदार जित हात पारेका छन्। विजयी यी दुवै युवाको स्वभावमा एउटा गज्जबको समानता छ– दुवै असाध्यै नरम, धैर्यवान् र गालीगलौजको परम्परागत राजनीतिबाट टाढा रहन चाहन्छन्। पुराना र स्थापित नेताहरू संसद् र सडकमा एकअर्कालाई खुइल्याउन व्यस्त रहँदा निश्कल र सुहाङ भने शालीन र एजेन्डाकेन्द्रित राजनीतिलाई प्राथमिकता दिन्छन्। उनीहरूको यो छविले मतदातालाई आकर्षित मात्र गरेन, पुराना दलहरूले अब आफ्नो कार्यशैली बदल्न ढिला गर्नु हुँदैन भन्ने बलियो सन्देश पनि दिएको छ।
यसै सन्दर्भमा कांग्रेस नेता समशेर राई भन्छन, ‘यदि ३५ वर्षका बालेन शाह काठमाडौँको मेयर हुँदै देशको प्रधानमन्त्री बन्न सक्छन् भने, त्यही उमेरका शिक्षित र जनताबाट अनुमोदित निश्कल राई किन कांग्रेसको संसदीय दलको नेता बन्न सक्दैनन् ?’ शमशेरको मात्रै होइन, एमालेका नेताहरूको तर्क पनि उस्तै छ। एमालेका केन्द्रीय सदस्य राम बहादुर मगर पनि युवालाई नेतृत्व दिने परिस्थिति निर्माण हुनुपर्नेमा जोड दिँदै भन्छन, ‘युवालाई कसैले अवसर दिनुपर्छ भन्छ भने त्यो दिनुपर्छ। यसपटकको चुनाव हेर्दा धेरैतिर युवाहरूले नै जितेका छन्। ३५ वर्षका युवा प्रधानमन्त्री बन्न सक्छन् भने त्यही उमेरकालाई संसदीय दलको नेता बनाउँ भन्नु स्वाभाविक हो।’
बालेनलाई प्रधानमन्त्रीको रूपमा हेर्न चाहने जनमत तयार भइरहँदा, स्थापित दलहरूभित्रै रहेका युवा र सक्षम सांसदहरूलाई किन अगाडि सारिँदैन भन्ने प्रश्न अहिले चौतर्फी उठ्न थालेको छ। के उनीहरूलाई सधैँ ‘दोस्रो तह’ वा ‘आशीर्वाद थाप्ने’ भूमिकामा मात्र सीमित राख्ने भन्नेबारे सामाजिक सञ्जालमा समेत चर्को बहस सुरु भएको छ। यसबारे सुहाङ नेम्वाङले स्पष्ट पार्दै भने, ‘अग्रजहरूप्रति सम्मान र उहाँहरूको अनुभवलाई आत्मसाथ गर्दै युवा पुस्ता अगाडि बढ्नुपर्ने अवस्था आएको छ, पार्टीले निर्णय गरेको अवस्थामा म नेतृत्व लिन खुट्टा कमाउँदिनँ।’
३५ वर्षको युवाले देशकै राजधानीको कमान्ड सम्हाल्न सक्छ र प्रधानमन्त्री बन्न सक्छ भने, वर्षौँदेखि संगठनमा भिजेका, शिक्षित र शालीन निश्कल र सुहाङहरूलाई संसदीय दलको नेताको रूपमा स्वीकार्न दलका शीर्ष नेतृत्व हच्किनु नहुने इलामे जनताको ठम्याइ छ। गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व गरेको कांग्रेसमा संसदीय दलको नेतृत्व पनि युवा नै आउनुपर्नेमा जोड दिइएको छ भने एमालेले आफ्नो खस्केको साख फिर्ता ल्याउन सुहाङलाई अगाडि बढाउनुपर्ने स्थानीय नेताहरूको तर्क छ। के पुराना दलहरूले समयको यो पदचापलाई बुझेर युवालाई नेतृत्व सुम्पिएलान्रु यो अहिलेको सबैभन्दा रोचक प्रश्न बनेको छ।




















