परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसँग सम्बन्धित सीमा विषयलाई कूटनीतिक संवादकै माध्यमबाट समाधान गर्ने स्पष्ट नीति दोहोर्‍याएको छ।

मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उक्त सीमा विवादमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट र अडिग रहेको जानकारी दिएका हुन्। 

उनका अनुसार नेपालले आफ्नो दाबी र आधारलाई निरन्तर कूटनीतिक माध्यमबाट सम्बन्धित पक्षहरूसमक्ष प्रस्तुत गर्दै आएको छ।

प्रवक्ता क्षेत्रीले लिपुलेक क्षेत्रसँग सम्बन्धित विषयमा नेपालले यसअघि नै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै हालैका घटनाक्रमसँग सम्बन्धित विषयमा समेत नेपालले स्पष्ट रूपमा आफ्नो स्थिति राखेको बताए। महाकाली नदी पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएको तथ्य ऐतिहासिक सन्धि-सम्झौता र प्रमाणका आधारमा स्थापित रहेको नेपाल सरकारको धारणा रहेको उनले दोहोर्‍याए।

उनका अनुसार नेपालले भारत र चीन दुवै देशलाई आफ्नो कूटनीतिक अडानबारे पुनः जानकारी गराइसकेको छ। नेपाल-भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई सम्मान गर्दै समस्याको समाधान संवादकै माध्यमबाट खोज्नुपर्नेमा सरकारको जोड रहेको पनि उनले बताए।