कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्वासीमाथि भइरहेका ज्यादती बन्द गर्न सरकारलाई आग्रह गरेका छन्।
वीरेन्द्रनगर नगरपालिकाको ५०औँ स्थापना दिवसका अवसरमा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले जनतालाई कानुन कार्यान्वयनको नाममा नागरिकलाई आतङ्कित बनाउने गतिविधि बन्द हुनुपर्ने बताएका हुन्।
उनले लोकतान्त्रिक व्यवस्थामा जनताले सुरक्षित र आश्वस्त महसुस गर्न पाउनुपर्ने भए पनि पछिल्लो समय सुकुम्वासी व्यवस्थापनको नाममा नागरिक उकुसमुकुसको अवस्थामा पुगेको टिप्पणी गरे।
उनले वास्तविक अवस्था अध्ययन नगरी सुकुम्वासी बस्ती खाली गराउने कार्यले सर्वसाधारण त्रसित बनेको बताए। ’लोकतन्त्रमा जनताको आवाज दबाउने प्रयास हुनुहुँदैन,’ उनले भने, ’जनताले सुरक्षित महसुस गर्नुपर्ने हो, तर अहिले उनीहरू भय र अन्योलमा छन्।’
मुख्यमन्त्री कँडेलले भूमिहीन तथा सुकुम्वासीको समस्या क्रमशः समाधान हुने प्रकृतिको भएको उल्लेख गर्दै दीर्घकालीन र व्यवहारिक समाधान खोज्नुपर्ने धारणा राखे।
उनले झण्डै दुई तिहाइ बहुमत सरकारले सरकारी जग्गा संरक्षण अभियान अघि बढाइरहेका बेला मानवीय पक्षलाई प्राथमिकतामा राख्नुपर्ने बताए। रास्वपाले आफ्नो वाचा पत्र कर्णालीबाट सार्वजनिक गरेको स्मरण गराउँदै मुख्यमन्त्री कँडेलले आगामी बजेटमा यसअघि प्रदेश सरकारले सङ्घीय सरकारसमक्ष राख्दै आएका योजना र प्राथमिकतालाई समेट्न आग्रह गरे।