प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच बिहीबार बिहान भेटवार्ता भएको हो।
प्रधानमन्त्री कार्की र निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीबीच भेटवार्ता भएको दुवैतर्फको सचिवालयले पुस्टि गरे पनि उनीहरूबीच के कुरा भयो भन्ने खुलाइएको छैन।
पछिल्लो समय एमाले नेताहरू सरकारले चुनाव गराउनेमा सशंकित देखिएका छन्। बुधबार मात्र एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले सरकारले चुनाव नगराउने बहाना खोजिरहेको बताएका थिए।
मंगलबार एउटा कार्यक्रममा ओलीले संसद् पुनःस्थापना गर्नेरनगर्ने विषयमा सर्वोच्च अदालतले चुनावअघि नै निर्णय गरिसक्नुपर्ने बताएका थिए।
उनले हिमाली जिल्लामा अहिलेकै अवस्थामा चुनाव हुन समस्या रहेको बताएकी थिए। सोही दिन प्रधानमन्त्री कार्कीले मौसमले साथ नदिए दुई चरणमा चुनाव गर्न सक्ने अभिव्यक्ति दिएकी थिइन्। त्यसको एमालेले प्रतिवाद गरेको छ।
यी घटनाक्रमको पृष्ठभूमिमा भएको प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीचको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।




















