धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र बन्दै गएको छ। दन्तकाली मन्दिरमा शुद्ध मनले मागेका र चिताएका कुरा पूरा हुने विश्वास रहिआएको छ।
धरान उपमहानगरपालिका–१४ विजयपुरमा अवस्थित पौराणिक महत्व बोकेको दन्तकाली मन्दिरमा हाल दैनिक रूपमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको मन्दिरका मूलपुजारी विश्वराज खनालले जानकारी दिए। उनका अनुसार पौष शुक्ल पूर्णिमादेखि सुरु भई एक महिनासम्म चल्ने स्वस्थानी व्रतका कारण यस अवधिमा भक्तजनको उल्लेख्य घुइँचो लाग्ने गर्दछ।
दन्तकाली मन्दिरमा हरेक वर्ष असोज, माघ, चैत र असारमा चारवटा नवरात्रमा विधिवत् पूजाअर्चना गरिन्छ। विशेषगरी विजयादशमीको नवरात्रमा घटस्थापनादेखि अष्टमी, नवमी र दशमीसम्म भक्तजनको ठूलो भीड लाग्ने गर्दछ। यस समयमा पूजा आराधना गर्दा मनोकामना पूरा हुने, रोगव्याधि नास हुने र दुःख हट्ने जनविश्वास रहिआएको छ।




















