नेकपा एमालेका सचिव महेश बस्नेतले देशभर घुमन्ते उम्मेदवार जाने चलन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चलाएको आरोप लगाएका छन्।
राष्ट्रिय युवा संघ, केन्द्रीय युवा परिषद्को बैठकलाई सम्बोधन गर्ने क्रममा उनले घुमन्ते उम्मेदवारलाई घुमाएर फर्काउन मतदाताहरूलाई आग्रह गरे।
‘अहिले घुमन्ते उम्मेदवार देशभर जाने चलन रास्वपाले चलाएको छ। घुमन्तेलाई घुमाइदिनुस्, विकास, समृद्धि देखाइदिनुस्, भोट नेकपा एमालेलाई हालिदिनुस्,’ सचिव बस्नेतले सम्बोधनको क्रममा भने।
साथै, उनले झापा लगायत देशभरका मतदाताले यसपटक रैथाने उम्मेदवारलाई नै मतदान गर्न पनि आग्रह गरे।
‘म झापा लगायतका देशभरका मतदातालाई अनुरोध गर्न चाहन्छु, यसपटकको चुनावमा घुमन्ते उम्मेदवार बाइबाइ, रैथाने उम्मेदवार हाइहाइ। नेकपा एमाले जिन्दावाद, घुमन्ते उम्मेदवार मुर्दावाद,’ उनले भने।
साथै, उनले आफ्नो पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च भइरहेको पनि बताए। ‘पूर्वप्रधानमन्त्रीलाई व्यक्ति हत्याको आरोप लगाउने प्रपञ्च हुँदैछ’ बस्नेतले भनेका छन्।




















