राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले शहदहरूको बलिदानलाई बेवास्ता गर्ने छुट कसैलाई नभएको बताएका छन्। शहीद दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्।
'राणा शासनको अन्त्यको माग गर्दै सङ्घर्ष गर्ने गङ्गालाल श्रेष्ठ, दशरथ चन्द , धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष भएको छ। त्यसको दश वर्षपछि राणा शासनको अन्त्य भयो तर राज्य जनताको बन्न सकेन। यसपछि पनि नेपाली जनताले निरन्तर सङ्घर्ष गरिरहनु पर्यो। ८५ वर्षमा पटक–पटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन, उनले सन्देशमा भनेका छन्।'
उनले भनेका छन्– '८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्यो। अहिले हामी ती शहीदका सपना पुरा गर्ने बाटोमा अघि बढिरहेका छौँ। लामो सयमसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ। राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व हामीसँग छ। अब समय आएको छ–शहीदका रगतलाई सम्मान गर्दै वहाँहरूको सपना पुरा गर्ने। सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने।'
फेरी कसैले शहीद बन्नु नपरोस् भन्दै शाहले सम्पूर्ण शहीदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।




















