विराटनगर । नेपाली कांग्रेसका महामन्त्री एवं मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गुरुराज घिमिरेले आफ्नो क्षेत्रको चौतर्फी विकास र रोजगारी सिर्जनालाई मुख्य चुनावी एजेन्डा बनाएका छन् । उनले मोरङ–४ मा भौतिक पूर्वाधार मात्र नभई मानवीय विकास र उद्यमशीलतालाई प्राथमिकता दिने बताएका हुन् ।
महामन्त्री घिमिरेले कटहरी र ग्रामथान क्षेत्रको विकासका लागि ‘मिनी सौराहा’ को अवधारणा अघि सारेका छन् । विराटनगर आउने पर्यटकहरूलाई स्थानीय स्तरमै भुलाउने र राख्ने वातावरण बनाउन सके यहाँका हजारौं युवाले रोजगारी पाउने उनको दाबी छ । ‘मैले मोरङ–४ मा सडक, पुल र बिजुली मात्र होइन, यहाँका युवालाई स्वदेशमै रोक्न सक्ने ठोस योजना ल्याएको छु,’ घिमिरेले भने, ‘कटहरी र ग्रामथानलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दा यस क्षेत्रको आर्थिक स्वरूप नै बदलिनेछ ।’
किसानहरूको समस्यालाई सम्बोधन गर्दै उनले देशमै मल कारखाना खोल्नुपर्ने र त्यसका लागि मोरङ–४ ले नेतृत्वदायी भूमिका खेल्ने बताए । मल कारखानाको स्थापनाले एकातिर किसानले समयमै मल पाउने र अर्कोतिर हजारौं नेपालीले रोजगारी पाउने उनको तर्क छ । निजी क्षेत्रलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने र संरक्षण गर्ने नीति ल्याएर मोरङ–४ लाई औद्योगिक र पर्यटकीय हब बनाउने आफ्नो सपना रहेको उनले सुनाए ।
क्षेत्रीय विकाससँगै उनले कांग्रेसले केन्द्रमा पनि स्पष्ट बहुमत ल्याउने दाबी गरे । पार्टीको १४ औँ महाधिवेशनबाट आएको नेतृत्व विशेष महाधिबेशन बाट परिवर्तन र गगन थापाको मधेश यात्राले देशभर कांग्रेसको पक्षमा लहर आएको भन्दै उनले मोरङ–४ सहित देशभर कांग्रेसले प्रत्यक्षमा १०० सीट र समानुपातिकमा ४२ सीटसम्म ल्याएर एक्लै सरकार बनाउने जिकिर गरे । कांग्रेसले आधिकारिक रूपमा निर्वाचनमा जाने निर्णय गरिसकेकाले अबको सम्पूर्ण शक्ति चुनावी अभियानमा केन्द्रित रहेको र आफूलाई यस क्षेत्रका मतदाताले भारी मतले विजयी गराउनेमा उनी विश्वस्त छन् ।
मुलुकको परराष्ट्र नीतिलाई सन्तुलित बनाउँदै भारत र चीन दुवै छिमेकीसँग राष्ट्रिय हितका आधारमा सुमधुर सम्बन्ध राख्ने कांग्रेसको नीति रहेको बताउँदै घिमिरेले मोरङ–४ को भविष्य र देशको समृद्धिका लागि कांग्रेसको विकल्प नभएको उल्लेख गरे । उनले मतदातालाई उम्मेदवारको योग्यता र भोलिको योजना हेरेर मतदान गर्न अपिल गर्दै यसपटकको निर्वाचनले मोरङ–४ र सिंगो देशको भविष्य बदल्ने अवसर भएको बताए ।




















