ऐतिहासिक रूपमा वामपन्थीहरूको बलियो ‘लालकिल्ला’ मानिँदै आएको सुनसरी निर्वाचन क्षेत्र नम्बर १ मा यसपटकको चुनावी समीकरण निकै पेचिलो बनेको छ । वि.सं. २०१५ सालदेखि कम्युनिस्ट वर्चस्व रहँदै आएको यो क्षेत्रमा यसपालि विचारधाराभन्दा पनि दुई नयाँ शक्तिको उदय र पुराना दलहरूको अस्तित्व रक्षाको लडाइँ मुख्य चर्चाको विषय बनेको छ ।

यसपटकको प्रतिस्पर्धा ‘माटो’ (हर्क साम्पाङको श्रम संस्कृति पार्टी) र ‘घण्टी’ (राष्ट्रिय स्वतन्त्र पार्टी) बीच केन्द्रित हुने अनुमान गरिएको छ । तर, यो प्रतिस्पर्धाको बीचमा एउटा नयाँ ट्विस्ट देखिएको छ— हर्क साम्पाङलाई रोक्न पुराना दलहरूबीच भइरहेको ‘अदृश्य’ कार्यगत एकता ।

२०४८ मा मनमोहन अधिकारीदेखि २०७९ मा अशोक राईसम्म आइपुग्दा यो क्षेत्रले प्रायः वामपन्थी उम्मेदवारलाई नै अनुमोदन गर्‍यो । तर, २०७९ को स्थानीय तह निर्वाचनमा हर्क साम्पाङले स्वतन्त्र रूपमा मेयर जितेपछि यहाँको राजनीतिक चित्र फेरिएको छ । १ लाख ५० हजार ३९३ मतदाता रहेको यो क्षेत्रमा अहिले साम्पाङ र रास्वपाकी गोमा तामाङ (सरिन) बीच कडा टक्कर हुने देखिएकाे छ ।

धरानको मेयर पदबाट राजीनामा दिएर ‘प्रधानमन्त्री बन्ने’ लक्ष्यसहित चुनावी मैदानमा होमिएका हर्क साम्पाङका लागि यो बाटो त्यति सहज भने देखिँदैन । कोकाहाको पानी ल्याएर लोकप्रियता कमाएका साम्पाङले कार्यकाल पूरा नगरी पद छाड्दा मतदातामा असन्तुष्टि चुलिएको छ । प्राध्यापक डा. टंकप्रसाद न्यौपाने यसलाई साम्पाङको ‘रणनीतिक गल्ती’ मान्छन् । अधुरा योजना अलपत्र छाडेर सांसद बन्न हिँडेको भन्दै मतदाताले उनीमाथि प्रश्न उठाउन थालेका छन् ।

यस चुनावको सबैभन्दा रोचक पक्ष भनेको एमाले, कांग्रेस र अन्य पुराना दलहरूबीच साम्पाङलाई रोक्न भइरहेको भित्री तयारी हो । एमालेका एक प्रदेश स्तरका नेताका अनुसार, यदि साम्पाङले जित्ने निश्चित देखिएमा पुराना दलहरूले सबैभन्दा बलियो देखिएको अर्को उम्मेदवारलाई ‘अदृश्य’ रूपमा सघाउन सक्ने सम्भावना छ ।

साम्पाङको आक्रामक स्वभाव, धार्मिक विवाद र सामाजिक सञ्जालमा व्यक्त गर्ने शैलीले गर्दा कतिपय मतदाता उनीसँग चिढिएका छन्, जसको फाइदा उठाउने दाउमा पुराना शक्तिहरू छन् ।

चुनावमा व्यक्तिगत बदलाको पाटो पनि जोडिएको छ । कार्यपालिका बैठकमा मेयर साम्पाङसँग ‘लौ चुनाव लडौँ’ भन्दै चुनौती दिएका धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) अहिले तारा चुनाव चिह्न लिएर मैदानमा छन् । साम्पाङको कार्यशैलीबाट रुष्ट भएकाहरूको समर्थन उनले पाउने अपेक्षा गरिएको छ ।

२०७९ को समानुपातिक मत परिणाम हेर्दा यहाँ रास्वपा दोस्रो ठूलो शक्तिका रूपमा देखिएको थियो । रास्वपाकी गोमा तामाङले अघिल्लो चुनावमा १० हजारभन्दा बढी मत ल्याएकी थिइन् । अहिले साम्पाङ र पुराना दलबीचको खिचातानीमा रास्वपाले आफ्नो भोट बैंक सुरक्षित राख्दै जित निकाल्ने दाउ हेरिरहेको छ । यद्यपि, तामाङमाथि पनि मतदाताको फोन नउठाउने र सामाजिक काममा कम देखिने गरेको आरोप लाग्ने गरेको छ ।

सुनसरी–१ मा यसपटकको निर्वाचन केवल एक सांसद छान्ने प्रक्रिया मात्र नभई, परम्परागत राजनीतिक शक्ति र उदीयमान वैकल्पिक शक्तिबीचको प्रतिष्ठाको लडाइँ बनेको छ । के पुराना दलहरूले हर्क साम्पाङको गति रोक्न सफल होलान् ? या ‘माटो’ र ‘घण्टी’को रापले लालकिल्लाको इतिहास सदाका लागि मेटिनेछ ? यसको फैसला सुनसरीका सचेत मतदाताले गर्नेछन् ।