नेपाली कांग्रेस नेता सुनिल थापा प्रतिस्पर्धा नगरी राष्ट्रिय सभामा पुगेका छन्। गत पुस १३ गते मनोनयन दर्ता गरेका उनले प्रतिस्पर्धा गर्नै परेन।
नेकपा उम्मेदवार समयमा नआएपछि निर्विरोध निर्वाचित भएका उनले आइतबार निर्वाचित भएको प्रमाणपत्र पाए।
राष्ट्रिय सभामा नेकपाले हेमराज घिमिरेलाई उम्मेदवार बनाएको थियो। तर, संखुवासभाबाट विराटनगर आउन ढिलो भएपछि थापा निर्विरोध भए।
निर्वाचित भएपछि उनले लामो राजनीतिक र प्रशासनिक अनुभवलाई राष्ट्रको हितमा लगाउने जनाए। ‘सर्वप्रथम अहिले हाम्रो जुन गणतन्त्र, संघीयता, समावेशी र संविधानलाई बचाएर अघि बढ्ने हो,’ उनले भने,‘ एउटा ल मेकरको हिसाबले अब त्यहाँ आउने बिल (विधेयक) हरूलाई चाहिँ राम्रोसँग केलाएर कसरी हुन्छ राष्ट्र र जनताको हितमा काम गर्नेछु भन्ने मैले अठोट लिएको छु।’
उनले संयुक्त राष्ट्र संघदेखि दुई पटक मन्त्रीसम्मको जिम्मेवारी सम्हालेका कारण त्यसको अनुभवले राष्ट्रिय सभामा काम गर्ने बताए।
‘नेपालको राजनीतिक र प्रशासनिक क्षेत्रमा मेरो लामो अनुभव र दक्षता छ, अन्तर्राष्ट्रिय सम्बन्ध र क्षेत्रमा काम गरेको अनुभवलाई अब मैले नेपाली कांग्रेसको मात्र नभई राष्ट्रकै हितका लागि प्रयोग गर्नेछु ,’ उनले भने।




















