मोरङ क्षेत्र नं. ४ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार जीवन घिमिरेले आफ्नो उम्मेदवारी राष्ट्रिय समृद्धि, लोकतन्त्रको रक्षा र क्षेत्रीय विकाससँग प्रत्यक्ष रूपमा जोडिएको बताएका छन्।
चुनावी अभियानका क्रममा मोरङ क्षेत्र नं. ४ का विभिन्न स्थानमा मतदातासँग भेटघाट गर्दै उम्मेद्वार घिमिरेले आफूले बोल्ने कुरा गरेर देखाउने नेताको रूपमा चिनिएको दाबी गरे। यसअघि प्रदेश सरकारमा सामाजिक विकास मन्त्रीको जिम्मेवारी सम्हाल्दा निर्वाचनका बेला जनतासामु गरेका प्रतिबद्धताहरू पूरा गरेको उल्लेख गर्दै उनले यस पटक पनि स्पष्ट कार्ययोजना र प्रतिबद्धतासहित जनताको बीचमा आएको बताए।
घिमिरेले मोरङ क्षेत्र नं. ४ को विकास, समृद्धि र जनताको साथ–सहयोग नै आफ्नो प्रमुख उद्देश्य रहेको जनाउँदै नेताचोकदेखि केरौन नहर खण्ड को बाटो निर्माण आफ्नो मुख्य प्राथमिकतामा रहेको स्पष्ट पारे। उक्त बाटो विगतमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरूले पटक–पटक प्रतिनिधित्व गर्दा पनि निर्माण हुन नसकेको उल्लेख गर्दै उनले अब उक्त बाटो निर्माणको जिम्मेवारी आफू र नेकपा एमालेले पूरा गर्ने दाबी गरे।
उनले जात, धर्म वा क्षेत्रको नाममा राजनीति गरेर वर्चस्व कायम गर्ने सोच अब सफल नहुने पनि बताए। “मोरङ क्षेत्र नं. ४ का जनता सचेत, विवेकशील र राजनीतिक रूपमा जागरुक भइसकेका छन्,” उनले भने, “कसलाई के गर्ने र के नगर्ने भन्ने निर्णय गर्न सक्ने क्षमता जनतामा विकसित भइसकेको छ।”
नेकपा एमालेका तर्फबाट मोरङ क्षेत्र नं. ४ का उम्मेद्वार घिमिरेले विकास, सुशासन र स्थायित्वका लागि एमालेको विकल्प नभएको दाबी गर्दै आगामी निर्वाचनमा आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरे।




















